Tag Archives: सिक्किम

‘ज्याकेटवाली’

यो सिट खाली हो ?’, ‘हैन, यहाँको मान्छे बाहिर गा छ’, काँकडभिट्टा बोर्डरमा रोकिएको जिप्सिको ड्राईवर छेउको सिटबाट पिङ्क ज्याकेटमा सजिएकी केटी मेरो प्रश्नमा बोली । ‘तर यो चै खाली छ यसमा बसे हुन्छ’ उस्ले नै सुझाई । ज्ञानी बालक झै मैले टाउकोले सहमति जनाएर पछिल्लो सिटमा आफ्नो ब्याग राखेँ ।
नयाँ वर्ष २०११ लाई स्वागत गर्ने बहानामा एक मित्र सँग विराटनगरबाट सिक्किमको यात्रा सुरु गरेको पाँच घण्टा पुगेसँगै मोबाईलले १० बजेर ५३ मिनेटको अंक देखाईरहदा मनले यात्राको विभिन्न योजना खेलाईरहेको छ । सानो हुँदा आमासँग आफन्तको घर जाने बहानामा सिक्किम निक्कै पटक पुगेको थिए । नौलो नभएनि यो पटक नि मन भरी योजनाहरु खेलिरहे सदा झै । केहि क्षणमा मरो फस्ट च्वाइसको अघिल्लो सिटमा दूई जना आएर बसे अनि मेरो छेउमा सहयात्री साथी निर्मल शर्मा । उसले हातभरी बुबालो बबलगम बोकेको रहेछ, मैले केहि माथि कब्जा जमाँए । कतैबाट बजेको घण्टिको आवाजसँगै जिप्सिले गति लियो बोर्डर पार पुर्वतिर । जसै हाम्रो सवारीले नेपालको भुमिलाई पर पार्दै गयो मलाई भने विदेशको चस्कोले छेड हान्दै जान्थ्यो । सिक्किम र नेपालको रहनसहन उस्तै हो, उस्तै बोली चाली अनि सँस्कृति तर पनि मनले नेपाल होईन भन्ने तिखो संकेत मस्तिष्कमा स्नायु हुदै पठाए पछि केहि बिग्रेलाकि भन्ने चिसो भान परिरहन्छ । नेपाली सिमानाले बिस्तारै झितिज छुदै गर्दा गाडीका प्राय आँखा बाहिरको दृष्य क्याप्चर गर्न मस्त हुदैछ । मैले अघिकि पिङ्क ज्याकेट वालीको सिट तिर आँखा डुलाँए, उ पनि झ्यालमा टाउको अडाएर हेर्दै रैछे, आँखा जुध्यो। जिउ सिरिङ्ग भयो, लाज लागेर आयो, हत्तपत्त आँखा हटाएर बाटो पारी हेर्छु । ‘उसले मै तिर हेरेकि हो त ?’, होला कि भन्ने भावले आनन्द महसुस भयो । आँखालाई सरक्क दायाँ कोण दिदै उ भएतिर चोर नजर पाँरे । अचम्म ! , उ मुस्काई । मैले नि त्यसै गर्दें । ‘दाई म्युजिक प्लेयर छैन ?’ निर्मलले कानै अघि आएर करायो , ‘गित बजाउनु न’ । ‘छा नि तर भएर के गार्नु ? कार्ड छैना’ लिम्बु लबजका ड्राइभर दाई बोले । उनको कुरो झर्न नपाई छेउको अर्को यात्रुले आफ्नो मोबाईलको मेमोरी झिकेर दियो । लगतै जिप्सिमा रहेको सोनीको कालो म्युजिक बक्सले ओल्ड हिन्दि नम्बरहरुको सुर पक्रिन थाल्यो। ‘यस्तै छ है साथी हो, मेरो चोइस त’ मेमोरी–कार्ड धनि बोले, ‘तर गाडीमा सुन्ने गित पनि यस्तै त हो नि’ छोटो हाँसोसँगै उसले आफ्नै कुरामा हो थप्यो ।
यात्रा गर्दाको मज्जै यस्तैमा हुन्छ अनेक व्यवहारक मानिस, तिनका अनेक प्रकारका कुरा, बानी अनि नयाँ वातावरण । माइण्ड नै रिफ्रेस हुन्छ । काम अनि कामको चटारो एक रत्ति हुदैन । रुम टु रिडका संस्थापक जोन उडले आफ्नो किताब ‘माईक्रोसफ्टदेखि बाहुनडाडाँ’मा भनेका छन् ‘हिमालको छेउ(टुर) जाँदा हामीले हाम्रो हाकिमले कराएको सुन्ने छैनौ’ । त्यसैले त सायद पश्चिमेलीहरु टुरिज्मका लागि मरिहत्ते गर्छन । वर्षभरि मरिञ्जेल काम ग्रनु अनि क्रिसमसको बिदामा कतै घुम्न जानु वार्षिक क्यालेन्डरको मेमो नै हुन्छ उनिहरुको । नेपालले पर्यटन वर्ष २०११ मनाउन लागेको पनि यहि विछुट्टै अनुभवको उपज हो भन्ने मलाई लाग्छ ।
कुरा पुनः जिप्सिमै डोर्याउ । गाडिले सिलिगुढि छुन लाग्यो । वातावरण अघि झै शान्त छैन । शहर पुग्न लाग्दा धुलोले आक्रमण गर्यो, दृष्यावलोकनका लागि खुलेका झ्यालका शिशा पुनः लागे । हुन पनि सिलिगुढिमा गाडिको चाप निक्कै रहेछ । हर्न अमर अमृत खाए झै गरि एकनासले बजिरहेछ । मैले फेरी त्यहि बेनामी पिङ्क ज्याकेटधारी तिर आँखा पारे , इरिटेड अनुहार पारेर गाडि बाहिर हेरीरहेकी रहिछे । उसको अनुहार हेर्न लायक थियो ,आमाले स्कुलको गेटबाट भित्र छिराउन लागे झै । लाग्यो ऐले रुइदिन्छे । मैले ध्यान देको चाल पाई क्यारे । उसले झट्ट अनुहार सम्हालि, आँखासम्म पुगेको कपाल चोर औलाले तानेर कानमा सुर्काइ । म एकटकले उसलाई हेरी रहन्छु । “तुम पास आए यु मुस्कुराए……..” पछिल्लो ट्रयाक सकिएर शाहरुख खानको मुभिको रोमान्टिक नम्बर बज्न थाल्छ । मलाई शाहरुख खान उत्ति मन पर्दैन तर यो गित बिछुट्टै प्यारो लाग्छ । यस्तो अवस्थामा बजिदिदा त संसारमै सबै भन्दा बढि मनपर्ने गितनै यै हो मेरो लागि । म्युजिक बक्सलाई धन्यवाद अझ बढि मेमोरी धनिलाई ।
उसलाई हेरीरहेको मेरो आँखा तलमाथि भो । बाहिर बाटो बिर्सनलायक खराब रहेछ । सिक्किम विकसित छ , सयौं वर्ष शासण गरेका अङ्ग्रेजहरुले बाटोहरु राम्रो बनाएका छन् तर सिक्किम राज्य पस्नु अघिको बंगालको बाटो भने उतिसाह्रो जाति होईन । पुरानो बिग्रिएकाले होला भर्खर निर्माण कार्य चल्दैछ । बाटोको खाल्डोमा गाडिको पछिल्लो चक्काले कुल्चियो, जिप जुरुक्कै उफ्रियो । ‘आइइइया…..!!!!’ नमज्जाले मेरो टाउको जिप्सिको छतमा बज्रियो । उस्को मुख बिग्रीएको मैले चाल पाए । “बाबु सम्लिएर है”, म पछिको सिटमा बसेकि आमैले सुझाईन् । निर्मलले मेरो टाउकोमा दाहिने हत्केला राख्यो र माडिदियो । ‘दुख्यो….’ उस्को हात हटाउदै मैले नि टाउको छाँमे, ‘आप्पुइइ टुटुल्को नै पो उठेछ’, पिडाले आँखामा पानी भरिए । आमाले भन्थिन् सानोमा कतै टाउको ठोक्किएर टुटुल्को उठे म टुटुल्को न हुट्नजेल रोईदिन्थे । पछि गाँउको हटियामा ‘ढुङ्ग्री’ भन्ने पापड किनि दिन्छु भनेर बाचा गरेछि मात्र साम्य हुन्थे रे म । तर यतिबेला म रुनु उचित थिएन भलै आँखाभरी आँसु टिल्पिलियोस् । केहि बेर जिप्सि भरिकाको लागि मेरो टुटुल्को ‘हट केक’ भयो । केहिले दुखाई सोधे अनि केहिले यसैलाई हस्यौलिको साधन बनाए । ‘आफ्नै दुखमा हाँस्नु ठिक हो’ तर अरुकोमा ? मनमनै सोचे , अरुको गाह्रोमा गिजा देखाउने बानी विश्वब्यापी रहेछ । हामी अघी कोहि लड्यो भने पहिले मरिन्जेली हाँसी दिन्छौ अनिमात्र हात । दुख्न केहि साम्य भएछि नि केहि बेर दुखे जस्तो गरेर बसि रहे कतै उसको सान्तवना त पाई हाल्छु कि ? । उसको सान्तवनाको प्रतिक्षारत भई उसको ओठतिर हेर्छु खुलुलाझै गरेको हो कि जस्तो लाग्छ, अपसोस लगातार ओठले झूक्याइरह्यो।
‘ओ हो बाँदरहरु’, निर्मलले बाटो तिर देखाउदै फेरी कानै नजिक करायो । मुख बिगारेर पहिले उसलाई हेरें अनि बाटो तिर, असँख्य बाँदरको झुण्ड बाटोमा खेलि रहेका रहेछन् । म क्यामेराबाट तिनलाई कैद गर्न खोज्छु ,प्रत्येक पटक गाडीको गतिले बाधा पुर्याउछ । म फेरी क्लिक थिच्छु, गाडिसँगै क्यामेरा हल्लि हाल्छ ,‘कस्तो फोटो लिनै नमिलेको’ समस्या मेरो बोलीमा आयो । सबै हाँसे, ‘पख्नुस्’ भन्दै ड्राईभर दाईले गाडी केहि स्लो पारे, मैले फोटो खिच्न भ्याँए । अघिल्तिरका दुई यात्रुले खोई भन्दै क्यामेरा हेर्न खोजे, भर्खरै खिचेको तस्विर देखाँउन म केहि अघि सरेर उनिहरुको सिटमा अडेस लाँगे । चिने जानेको बासना नाकै भित्र पस्यो, मोरीले ‘डाबर बाटिका’ तेल लाउदि रैछे । कलेजमा मेरो अगिल्लो बेन्चमा बस्ने साथि राधिकाले पनि यहि तेल लाउथि, क्लास नै मगमग हुन्थ्यो । म उसलाई ‘डाबर राधिका’ भनेर जिस्काउथे, उ मख्ख पर्थि । दुई जनाले फोटो हेरिसके पछि म पछि सर्न खोजें, ज्याकेटवालीले नि फोटो हेर्न खोजे जस्तो गरि मैले उ तिर क्यामेराको स्क्रिन तेर्साएर सजिलो पारिदिए । हातमा चिप्सको प्याकेट खेलाउदै गरेको बाँदरको फोटो देखेर उ हाँसी, बोल्न खोजे जस्तो गर्दैथि पापी ड्राईभरले घ्याच्चै गाडि रोक्यो । ड्राइभर हाम्रो मिलनको प्रयासमा भिलेन भएर आयो । बाहिर हेरें, पेट्रोल पम्पमा पो रोकेको रहेछ । जिप्सिको ढोका खुल्दै पहिले ड्राईभर उत्रियो, अरु सबै यात्रुले त्यसै गरे , मैले पनि । पहाडको छेउमा भएको पेट्रोल पम्प निक्कै सुन्दर रहेछ। आकर्षक सजावटले झन् बबाल देखिएको । यस्तो स्थानमा प्राय क्यामेरा बोक्ने यात्रुहरु दृष्य कैद गर्न ढिला गर्दैनन् , म पनि के कम ? ।
जिप्सीले केहि लिटर तेल खायो र पापी ड्राईभरले हर्न बजाएर सबै यात्रु चढाईसकेपछि यात्रा फेरी सुरु भयो । उसँगको सामिप्यतामा ब्रेक लागेको छ । अघि गाडि नरोकिएको हुँदो हो त बोली सक्थें होला सायद । अब कसरी कुरा सुरु गर्ने? म कन्फ्युज छु, सायद उ पनि त्यस्तै सोच्दै होली, उसको खुम्चिएको निधारको भावबाट मैले अनुमान लगाँए । ‘के सुरुमा म कुरा खोलुँ ?, अँह के सोच्ली?’ म झस्किन्छु, नबोली बँसु मनले मान्दैन‘उस्ले नै बोले पनि त हुन्छ नि’ म घमण्ड गर्छु , उ बोलुला झै गरि ओठलाई कसरत दिन्छे, फेरी असमर्थ । ‘मैले नामनै सोधेको छैन’ सोध्न पाए ‘डाबर फलानो’ भनेर जिस्काउथे । ‘फोन नं लिन पाए नि हुन्थ्योे’ तर माग्ने कसरी ? ‘एक्सक्युज मि के म तपाईको नाम अनि मोबाइल नं पाउन सक्छु , इमेल वा फेसबुक आइडि भएनि हुन्छ….’, ‘कृपया तपाइ आफ्नो नाम र ठेगाना मेरो डायरीमा टिपिदिनु हुन्छ ?…..’ म मनमनै आफुलाई तयार गर्छु ‘हेल्लो!, मेरो नाम सरोज, अनि तपाईको नि? ’ । तर यहि कुरो रियालिटिमा दोहोर्याउन सक्दिन । म अरुको अघि बोल्न नसक्ने मान्छे होइन, हिच्किचाउने वा लाज मान्ने पनि हैन तर यसरी पराई देशमा अन्जान युवतीलाई ठाडै तिम्रो नाम र नम्बर देउ न भन्ने आँट म मा छैन, नहोस् पनि । म्युजिक प्लेयरले “कहाँ होला घरबार कँहा होला गाँउ,चिठि लेखि पठाउला है के हो तिम्रो नाँऊ….” सुरेन्द्रमान सिहंको गित बजिदिए नि हून्थ्यो । मेरो मनको कुरो न त म्युजिक बक्सले सुन्छ न त उसले नै ‘ मेरो नाम यो अनि मेरो घर यहाँ’ भनेर स्वत: भन्नलाई । मलाइ त्यो कालो मन भएको कालो म्युजिक बक्सदेखि घृणा लाग्यो । ‘राम्फु आउछ, चेकिङ्ग हुन्छ नेपालबाट आकाहरुले सोधेको कुरा जति सबै भन्नु’ ड्राइभर दाई आदेश दिदै बोले । अरुको त देखिन मैले चाँही स्विकारोत्ति जनाउदै टाउको हल्लाँए । रम्फु सिक्किमको बंगालसँग जोड्ने सडक खण्डको प्रमुख प्रवेश मार्ग हो । यहाँ सिक्किम राज्य प्रहरीको कडा चेकजाँच हुने गर्छ, बिशेषतं नेपालीहरुलाई । गाडी रोकियो, बाहिरबाट कोहि करायो ‘जय नेपाल…’ । भारतिय भुमिमा आफ्नै नेपाली लबजमा कसैले देशलाई सम्मान प्रकट गरेको सुनेर हामी गाडिमा भएका दुई शुद्ध नेपाली म र निर्मलले ‘जय नेपाल’ भनि अभिवादन फर्कायौ । दार्जिलिङका प्रशान्त तामाङले इन्डियन आईडल जिते पछि यता पनि नेपाल भक्ति बढेछ, मैले अनुमान लगाँए । ‘ल जय नेपाल जति तल उत्रिऔ’ आवाजले आदेश दियो । हामी दुबै ओर्लियौ । ‘को?, कहाँबाट ?, किन?, कति दिनलाई? जस्ता असङ्ख्य प्रश्नद्वारा हाम्रो सिक्किम नाकामा स्वागत भयो । सबैको सरल उत्तर हामीसँग थियो, हामीले दियौ । ‘ल खै आइडि कार्ड हेरौ’ लौ पर्यो फसाद ! , दुई साता अघि हराएको वालेटसँगै मेरो सम्पुर्ण ‘म मै हुँ’ भन्ने प्रमाण हराएका थिए ‘कार्ड त छैन’, ‘त्यसो भए फर्क’, उ कड्कियो, ‘हैन के कुरा गर्नु भएको ? अब यहाँ आएर फर्किने’ म प्रतिवाद गर्छु ‘त्यसो भए जाउ उँ त्याँ भित्र गएर कुरा गर’ सेतो रंग लगाईएको एकतले भवन तिर देखाउदै हातमा स्वचालित हतियार बोकेका ति फौजी बोले । ‘दाजु एकछिन् है..’ मैले ड्राईवरलाई बिन्ति गरे । गाडिको सहयात्री ति ठिटिले ‘छिट्टै काम सकेर आउनु है’ भने झै गरि हेरी । ‘हुन्छ म सकेसम्म चाँडो गर्छु तर यि हेर न भारतिय नुन खाएकाहरुले कति कडक भएर जवाफ दिएको’ मैले मनबाटै उतिर सङ्केत पठाउने असफल कोसिस गरे । ‘छिटो जाउ’ फौजीले फेरी बोले पछि म र निर्मल हतारिदै भित्र पस्यौ । ‘झट्ट गर नत्र..’ ड्राईवर केहि भन्दै थियो म र निर्मल अघि बढि हाल्यौं । भित्र छुट्टै झमेला, उति नबोल्ने बंगाली हाकिम रहेछन्, हाम्रो बिन्ति नसुनि कम दर्जाको कर्मचारी तिर देखाईदियो । पड्काइदिउँ झै लाग्ने कर्मचारीको कडक ब्यवहार, समुन्द्रको बाटो हुदै कुनै टापु तिर लगिदै गरिएको कैदिलाई कप्तानले गर्ने झै व्यवहारले सब प्रोसेस छाडेर नेपाल नै फर्किउ कि झैं नि लाग्यो, अनि फेरी सम्झिए पिङ्क ज्याकेटवालीलाई । अनेकन पटक बिन्ति गरेपछि बल्ल साथीको कलेजको मिति गुज्रिएको लाइब्रेरी कार्ड धरौटि राखेर २ तारिखसम्मको इन्ट्रि पास बन्यो । नेपालबाट आएकाले कार्ड राखेर मात्रै प्रवेश गर्नु पर्ने नियम रहेछ, मैले विराटनगरका गल्ली गल्ली निर्वाध घुम्ने भारतिय नम्बरप्लेटधारीहरु सम्झिए । निर्मलको कार्ड धरौटिको दराजमा पस्यो अनि हामीले ईन्ट्री पेपर हात पार्यौं । निर्मलको साथ लागेर म ‘परिचय बिहिन नेपाली’ पनि सिक्किम पस्न पाउने भए , शर्त : जहाँ पुगे पनि सधै सँगै हिड्नु पर्ने । हामी बाहिर निस्कियौ, अघिको ठाँऊमा गाडि नै छैन । ‘अलि पर पो पार्किङ्ग गरेको छ कि ?’ निर्मलले डर र स्वास सँगसँगै बोल्यो । हामी अलि पर दगुर्यौ । अहँ …. छदै छैन …. के गर्ने होला ? । हाम्रो मुटु धड्किएर निस्केला झै भयो । आन्द्रा बटारिदै तन्कियो। फोक्सो फुलेर जिब्रो मै आईपुग्यो । जिउ लल्याक लुलुक भयो । ‘दाई हाम्रो गाडि खै ?’ म बोल्नै सकिन, निर्मलले अघि कै फौजीलाई सोध्यो , ‘गै हाल्यो नि त्यो त’ मोरोले हाँस्दै उत्तर दियो । नयाँ स्थान, अन्जान मानिस अनि अन्जान गन्तव्य भन्ने जान्दा जान्दै पनि छाडेर जाने कस्तो निर्दयी ड्राइभर? साथै लागेर आएका यात्रीहरु पनि त आधा दिनभरीमा घनिष्ठ भइसकेका थिएनि ? त्यो दुख्यो होला भन्ने बुढि ? फोटो हेर्न तम्सने डाकाहरु ? तिन्ले कस्तो अझै एकछिन पर्खिम न भनेको ? मलाई सप्पै यात्रुसँग रिस उठ्यो । दश पन्ध्र मिनेटको त कुरा थियो , अनि त्यो पिङ्क ज्याकेटवालीले नि ? हैन त्यसले त भनि होली ..
हुन त म उतिसारो पाठक हैन तर पनि मैले पढेका थोरै मध्येको कुनै किताबमा लेखिएको थियो “यात्रा गर्दा धेरै अनुहार देखिन्छन्, थोरै सँग चिनाजानी हुन्छ अनि कमैसँग फेरी भेटिन्छन् तर तिनिसँग बिताएको थोरै समय जिवनको उत्तम मध्येको एक हुन्छ” । साच्चै ज्याकेटवालीसँगको त्यो ३ वर्ष अघिको यात्रा अनुपम थियो । पृथ्वी गोलो छ , आशा गर्छु सिक्किमकि ति ठिटिसँग जिवनको कुनै गोरेटोमा फेरी भेट्ने छु अनि उसलाई सोध्ने छु ‘त्यो दिन, तिमिले एकछिन् पर्खिन कर गरेकी थियौ हैन , त्यो ड्राइभरले तिम्रो कुरा नसुनि अघि बढाएको त हो नि ……..

२०७१ असार २० गतेको नागरिक पुर्वेलीमा प्रकाशित